काठमाण्डौ । एनआईसी एशिया बैंकले २०७७ आश्विन मसान्तका लागि पुनः आकर्षक सहुलियत योजना बैंकले ल्याएको छ ।

जसअनुरुप २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएको छ  । 

यो बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै फाइदा उठाउन बैंकले आह्वान गरेको छ । 

बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरिएको समेत दाबी गरेको छ । यो योजनाबाट कोरोना भाइरसबाट आक्रान्त यस विषम परिस्थिति पश्चात् देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहकहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।