काठमाण्डौ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।

उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam / Kalmart  जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्था बीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपण अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको बताइएको छ । 

पछिल्लो पटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यस बैंकले सस्तो डिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा रू.२००० सम्म, कालमार्टमा २५ प्रतिशत वा रू.१५०० सम्म तथा ठूलो पसल,इन्फिस्टोर र ओकेदाममा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । बैंकमा आबद्ध ग्राहकहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहकहरूले सो अवसरको फाइदा लिने बैंकले विश्वास लिएको छ । साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आइसर्भ मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन आग्रह गरेको छ ।

बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।