काठमाण्डौ । कोरोना कहरका बीच लगानीकर्तालाई सरप्राइज दिंदै एनआईसी एशिया बैंकले आर्थिक वर्ष(आब) २०७६/७७ का लागि २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मंगलबार सम्पन्न एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ४६० औं बैठकले आ ब २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापूँजीको २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । 

बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश वितरणको निर्णय गरेको हो । 

बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद वितरणको प्रस्ताव गरेको छ । यो हिसाबले बैंकले रु. १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर र रु. ९ करोड ७२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृतपश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले गत आ.ब. २०७६/७७ मा प्रति शेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरूमध्ये यस बैंकले २.४९ प्रतिशत(रू. ७.५२ करोड)को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । 

बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पूँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरूमध्ये प्रथम बैंक रहन सफल भएको छ ।

बैंकको आब २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत रहेको छ । 

समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब रू. ३२१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्)ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २४ अर्ब)ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिमध्ये सबैभन्दा उच्चतम वृद्धि हो । 

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पुर्याउने सफलता पाएको छ । 

यो बंैक देशभर सबैभन्दा बढी सञ्जाल भएको वाणिज्य बैंक हो ।