काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनआईसी एसिया बैंक लिमिटेडले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको छ। 

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा पनि १.९९ प्रतिशतले बढेर १ अर्ब ४५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ९८ करोड रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकले २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार २०.६६ प्रतिशतले बढेर ६ अर्ब ६९ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार ५ अर्ब ५४ करोड रुपैयाँमा सीमित थियो। 

बैंकको खराब कर्जाको दर (एनपीएल) ०.४५ प्रतिशतबाट घटेर ०.४० प्रतिशतमा झरेको छ। आधार दर पनि ९.५१ प्रतिशतबाट घटेर ६.५० प्रतिशतमा झरेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.५६ रुपैयाँबाट बढेर ४२.०३ रुपैयाँ भएको छ। पीई रेसियो १३.७५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८९.७१ रुपैयाँ रहेको छ।