काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन) र एनआरएनद्वारा प्रव्द्धित कम्पनीहरुले नेपालमा रहेका वाणिज्य बैंकहरुमा विदेशी मुद्रामै बचत खाता खोल्न पाउने बाटो खुला भएको छ। यसअघि एनआरएनहरुले नेपाली बैंकहरुमा विदेशी मुद्राको मुद्दति खातामात्र खोल्न पाउने व्यवस्था थियो।

केन्द्रीय बैंकले गत साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको थियो। सोही व्यवस्थालाई राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दै कार्यान्वयनमा ल्याएको हो।

यस्तो खाता खोल्दा न्यूनतम ५ हजार डलर रकम जम्मा गर्नुपर्ने र यस्तो निक्षेप विदेशबाट बैंकिङ प्रणालीबाटै आउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका साथै सावा तथा ब्याज भुक्तानी पनि बैंकिङ प्रणालीबाट नै गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी अब एनआरएनहरुले न्यूनतम ५ हजार डलरमा मुद्दति निक्षेप खोल्ने सक्नेछन्। मुद्दति निक्षेपको न्यूनतम अवधि १ वर्ष कायम गरिएको छ। यसअघि विदेशी मुद्रामा मुद्दति निक्षेप खोल्दा न्यूनतम १० हजार डलर रकम जम्मा गर्नुपथ्र्यो भने न्यूनतम अवधि २ वर्षको थियो। 

यस प्रकारको खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टेर्लिङ, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

तरलता अभाव र घट्दो विदेशी मुद्रा सञ्चितीको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।