काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

संस्थाको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार डाकेको हो। सभा पोखराको पार्दी विरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा संस्थाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश पारित गर्नेछ। जसमा चुक्तपुँजी ४५ करोड ३६ लाख १७ हजार ५०० रुपैयाँ १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ४५ लाख ३६ हजार १७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

सभाले अन्य उपयुक्त लघुवित्त संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रियाका सबै कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीहरुलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।