काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तरवृद्धि गरी [ICRANP-IR] A रेटिङ प्रदान गरेको छ।

यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ। इक्रा नेपाल भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीका रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो।

विगतका वर्षमा विभिन्न संस्थासँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सोपश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालका कारण देशव्यापी रुपमा बैंकका ग्राहकको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज ब्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापनसमेतका आधारमा इक्रा नेपालले बैंकलाई यसअघि प्रदान रेटिङमा स्तर वृद्धि गर्दै  [ICRANP-IR] A रेटिङ प्रदान गरेको हो। 

कोभिड १९ को असरका कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर वृद्धि सम्भव भएको हो।  

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।