काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। 

प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो। यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ। 

२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु. ४ अर्ब २८ करोड ५० लाख रहेको छ। जसमध्ये बैंकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ। यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ।  

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelines अनुसार एनएमबि बैंकले Environmental and Social Policy तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ। बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीअन्तर्गत प्रचलित अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिबद्घता जाहेर गरेको छ।

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।  

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।