काठमाण्डौ । एनएमबी बैंकले खूद नाफामा ५९.४२ प्रतिशतको छलाङ मारेको छ । 

आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ७३ करोड रुपैयाँ बराबरको खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ७१ करोडमा सीमित थियो । 

अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ अर्ब ४५ करोडमा सीमित संचालन मुनाफा समेत ह्वात्तै बढेर समीक्षा अवधिसम्म ३ अर्ब ८३ करोड पुगेको छ । 

कोरोनाकालमा समेत व्यवसाय विस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको ५ अर्ब ४९ करोडको तुलनामा यो वर्षको खूद ब्याज आम्दानी केही बढेर ५ अर्ब ६७ करोड पुगेको हो । 

समीक्षा अवधिसम्म १६ अर्ब ३२ करोड चुक्तापूँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३३ करोड रहेको छ । 

अघिल्लो वर्ष १ अर्ब ७३ करोड रहेको रिटेन अर्निंग बढेर यो वर्ष  २ अर्ब २४ करोड पुगेको छ भने ५ अर्ब १२ करोडमा सीमित रिजर्बको आकार केही बढी ५ अर्ब ३८ करोड पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

खूद नाफामा आएको सुधारसँगै बैंकको प्रतिसेयर आम्दानी(इपीएस) पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ११.१८ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष १६.७८ रुपैयाँ पुगेको हो । 

बैंकले कोरोनाकालमा पनि खराब कर्जाको अनुपात घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २.६८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर यो वर्ष २.२७ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिसम्म बैंकको कोष लागत खर्च ५.७९ प्रतिशत, सीडी रेसियो ७७.०६ प्रतिशत, आधारदर ७.३३ प्रतिशत,  रिटर्न अन इक्वीटी १२.०१ प्रतिशत, पीई रेसियो २६.२२ गुणा, प्रतिसेयर नेटवर्थ १४६.७४ रुपैयाँ, तरलता अनुपात २७.५२ प्रतिशत कायम भएको छ ।