काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ । 

दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ । 

मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा बिजशालाले प्राप्त गरेको छ।

मर्जर वा एक्वीजिसन भन्नेबित्तिकै लगानीकर्ताको चासो रहने सेयर स्वाप अनुपातको बिषयमा यी दुई बैंकबीच भएको गोप्य सहमति सम्बन्धी सूचना आएको हो । 

उच्च स्रोतका अनुसार एनएमबी र ओम डेभलपमेन्ट बैंकबीच ८०ः१०० को अनुपातमा मर्जरमा जाने आन्तरिक सहमति बनेको छ । यसको अर्थ ओम डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेहरुले मर्जरपछि एनएमबी बैंकको ८० कित्ता सेयर पाउनेछन् । ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताका लागि यो निकै राम्रो सेयर स्वाप रेसियो हो । 

हाल दोश्रो बजारमा एनएमबी बैंकको सेयर प्रतिकित्ता ३८७ रुपैयाँ रहेको छ । यस्तै, ओम डेभलपमेन्ट बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९७ रुपैयाँ रहेको छ । ओम डेभलपमेन्ट बैंकले प्राइम कमर्सियल बैंकसँग बिलय हुने सम्झौता गरेपछि गत भदौदेखि यो बैंकको सेयर दोश्रो बजारमा कारोबार भएको छैन । 

मर्जर सम्झौताको क्रममा यी दुई बैंक बीच ८०ः१०० को सेयर स्वाप अनुपात कायम गर्ने समझदारी बनेको  र डिडिए रिपोर्टलाई आधार बनाएर यो अनुपातमा १० अंक थपघट हुन सक्नेछ । 

यस्तै, यी दुई बैंकबीच चालु आर्थिक वर्षका लागि एकैसाथ लाभांश घोषणा गर्ने र दुवै बैंकले एकदिन विशेष साधारणसभा डाकेर लाभांश पारित गर्ने समझदारी समेत बनेको छ । 

यसैगरी, ओम डेभलपमेन्ट बैंकका एक संचालकका अनुसार प्राइमसँगजस्तो ओमको एक्वीजिसन हुन लागेको होइन । ‘हामीले मर्जरको मोड्यूलमा जान खोजेका हौ ।’ ती संचालकले बिजशालासँग भने–‘त्यसकारण दुई बैंकबीचको मर्जर हो, बिजशालाले एक्वीजिसन भनिदिन भएन ।’ 

उनका अनुसार मर्जरपछि बन्ने एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृत एनएमबी बैंकका हालका सीइओ सुनिल केसी नै हुनेछन् भने डेपुटी सीइओमा ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी रहनेछन् । 

संचालक समितिमा ओम डेभलपमेन्ट बैंकको तर्फबाट सम्मानजनक सहभागिता हुनेछ भने मर्जरपछि बन्ने बैंकको संचालक समिति अध्यक्ष एनएमबी बैंककै अध्यक्ष रहने समझदारी समेत भएको छ । 

ओमका ती संचालकका अनुसार प्राइमसँगको सम्झौता भन्दा एनएमबी बैंकसँगको सम्झौतामा कर्मचारीहरुका लागि समेत विशेष समझदारी बनेको छ । ओमका कर्मचारीहरु मर्जरबाट उत्साहित बन्ने उनको दाबी छ । बाँकी कुरा उनले बताउन मानेनन् र भन–‘सबै कुरा अहिले नै दिएँ भने भोलिका लागि नयाँ केही हुन्न नि ।’

ओम डेभलपमेन्ट बैंकले प्राइम कमर्सियल बैंकसँग गत भदौ ३ गते बिलय हुने सम्झौता गरेको थियो । तर, एक्वीजिसनको क्रममा प्राइमले शंकास्पद व्यवहार गरेको र धेरै सम्झौता विपरीतका काम गरेको भन्दै ओम जारी प्रक्रियाबाट तर्सिएको थियो । तिक्तता  र अविश्वास बढ्दै गएपछि नेपाल राष्ट्रबैंकको समन्वयले समेत काम गरेन र दुई बैंकबीचको जारी एक्वीजिसन प्रक्रिया रद्ध भयो । 

एक्वीजिसन प्रक्रिया असफल भएसँगै ओमले एनएमबी बैंकसँग मर्जरको सम्झौता गर्ने अवस्थामा पुगेको हो । एनएमबी र ओम दुवैका लागि यो मर्जर फलदायी हुने देखिन्छ ।