काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ।

बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित कृष्ण टावरमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।

सभाले बैंकद्वारा प्रस्तावित कुल १६.२० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने बोनस सेयर र ३.२० प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

बैंकको वर्तमान अधिकृत पुँजी १६ अर्बबाट वृद्धि गरी २० अर्ब पुर्याउने विशेष प्रस्ताव पनि सभामा पारित हुनेछ। त्यस्तै जारी पुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रुपैयाँबाट वृद्धि गरी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँ पुर्याउने तथा अधिकृत पुँजी र बोनस सेयर जारी भएपछि बैंकको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्रमा पनि संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सोही मितिको अगावै सेयरधनी कायम भएकाहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।