काठमाण्डौ। एनएमबी लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले आज पुस २६ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। एनएमबी लघुवित्त, बुटवल पावर कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आज वार्षिक साधारणसभा डाकेका हुन्। 

एनएमबि लघुविले आफ्नो नवौँ वार्षिक साधारणसभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट डोकेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश रहेका छन्।

बोनस सेयर जारीपछि संस्थाको जारीपुँजी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा मर्जर वा प्राप्ति प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेका पदाधिकारीलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ।

यसैगरी बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट डोकेको छ। 

सभाले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।

त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीको नवौँ वार्षिक साधारणसभा काठमाण्डौको महाराजगन्जस्थित कम्पनीको सभाहलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको चुक्तापुँजी र सञ्चित मुनाफा (फ्री रिजर्भ)को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।