काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले आफ्नो भुक्तानीम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ। 

सम्झौतापत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।  

उक्त सम्झौतापश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपीएस)अन्तर्गतको विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ। सोअन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल–आईपीएस र कनेक्टआईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछन्।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका ७३ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।

एनएमबी क्यापिटल लिमिटेड मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट बैंकिङको क्षेत्रमा एनएमबी बैंक लिमिटेडको पूर्ण स्वामित्व रही एक दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको सहायक कम्पनी हो।  हाल यो कम्पनीले आईपीओलगायत धितोपत्र र यसको व्यवस्थापनसम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र ग्राहकलाई थप सुविधा प्रदान गर्न नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ भने एनसीएचएलसँगको यस सहकार्यले कम्पनीको सेवा प्रवाह थप सुदृढ हुने अपेक्षा गरिएको छ।