काठमाण्डौ । हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको बैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि 'हिमालयन एभरेस्ट इन्स्योरेन्स'को नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्।

हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीको हिजोबाट सेयर कारोबार खोल्ने तय भएको थियो। तर हिजो मर्जरमा गएको एक कम्पनी अर्थात् हिमालयन इन्स्योरेन्सको मात्र कारोबार खुल्दै गर्दा एभरेस्टको भने कारोबार भएन। हिजो हिमालयन इन्स्योरेन्सको नेगेटिभ सर्किटमा कारोबार भएको थियो।

नेप्सेमा कम्पनी सूचीकरण भएको दिन नै सिडीएससीलाई पनि क्यापिटलले जानकारी गराउनुपर्ने सिडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्।‘नेप्सेमा सूचीकरण भएको तेस्रो दिनदेखि मात्र कारोबार सुचारु हुन्छ।’ न्यौपाने भन्छन्–‘पहिलो दिन क्यापिटलले कुल सेयर कित्ता लगायतको विवरण सहित सिस्टममा सेटअप गर्नुपर्छ। दोस्रो दिन सिडीएससीबाट अप्रुभल भएपछि तेस्रो दिनबाट कारोबार गर्न मिल्छ।’

एनएमबी क्यापिटलले विवरणसहित सेटअप गरेपछि सिडीएससीले अप्रुभ गर्नुपर्ने थिण्यो । तर क्यापिटलले नेप्सेमा कम्पनी सूचीकरण गर्दै गर्दा सेटअप नै नगरी कम्पनीको कारोबार सुरु भयो। जसका कारण हिजो हिमालयनको मात्र कारोबार भयो। हिजो १ बजे मात्र क्यापिटलबाट एभरेस्टको कारोबार किन भएन भनेर सिडीएससीमा इमेल आएको न्यौपाने बताउँछन् । उनले भने–‘क्यापिटलले आवश्यक प्रक्रियाहरू पूरा नगरी कारोबार खोल्दा उक्त त्रुटि हुन पुगेको हो।’  

हिमालयन एभरेस्ट  इन्स्योरेन्स २४ गते नेप्सेमा सूचीकरण भएको थियो। त्यसको भोलिपल्ट नै क्यापिटलले आवश्यक प्रक्रिया नपुर्‍याई कारोबार खुल्यो, जसका कारण हिजो हिमालयन इन्स्योरेन्सको मात्र कारोबार भएको उनले प्रष्ट्याए । 

मर्जरमा गएको कम्पनी ‘मेरो सेयर’बाट कसरी हराउँछ ?
कम्पनीहरू मर्जरमा गएको बेला ‘मेरो सेयर’बाट नै कम्पनी हराएको गुनासो लगानीकर्ताहरूको सुन्ने गरिन्छ। 

लगानीकर्ताहरू आफ्नो सम्पत्ति हरायो भन्दै गुनासो लिएर नेप्से साथै सिडीएससीको ढोकामा पुग्ने गरेका छन्।

सिडीएससीका प्रवक्ता सुरेश न्यौपाने मर्जरमा गएका कम्पनी कन्भर्जन हुँदा ‘मेरो सेयर’मा नदेखिने बताउँछन्। ‘धेरै लगानीकर्ताहरूलाई ‘मेरो सेयर’बाट आफ्नो सम्पत्ति नै हरायो भन्ने लाग्छ। तर मर्जरमा गएको कम्पनी कन्भर्जन हुँदा सिस्टमले नै देखाउँदैन।’–उनले भने।

नेप्सेमा सूचीकरण भएको तेस्रो दिनदेखि मात्र सेयर कारोबार गर्न मिल्छ। पहिलो दिन क्यापिटलले मर्जरमा गएको कम्पनीको विवरणसहित सेटअप गर्नु पर्छ। दोस्रो दिन सिडीएससीबाट अप्रुभल हुन्छ । त्यसैले कन्भर्जनको बेला सिस्टमले नै गर्दा ‘मेरो सेयर’मा कम्पनीको नाम नदेखिने न्यौपाने बताउँछन् । उनका अनुसार सिडीएससीको अप्रुभलसँगै ‘मेरो सेयर’मा कम्पनीको नाम साथै भएको कुल सेयर कित्ता देखिन्छ।