काठमाण्डौ । आर्थिक वर्षको समाप्तिसँगै तोकिएको चुक्तापूँजी पुग्ने अवस्था सिर्जना गरेपछि एनएमबी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले आफ्नो २२ औं वार्षिक साधारणसभा आगामी साउन ३१ गते जाउलाखेलको नेपाल स्टाफ कलेजमा आह्वान गरेको हो । 

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७३/७४ को वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण समेत पारित गर्नेछ । 

यस्तै, सभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १५ प्रतिशतको दरले हुन आउने १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस सेयर जारीका लागि स्वीकृति प्रदान गर्नेछ । हाल बैंकको जारी पूँजी ७ अर्ब ६० करोड रहेकोले त्यसलाई वृद्धि गरी सभाले ८ अर्ब ७४ करोड पुर्याउने सूचनामा उल्लेख छ । 

साधारणसभाले बोनस सेयर वितरणका लागि आवश्यक ०.७८९५ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित गर्नेछ । 

बैंकले साधारणसभा प्रयोजनका लागि साउन १७ गतेदेखि बुक क्लोज हुने जनाएको छ । यसको अर्थ साउन १६ गतेसम्म एनएमबी बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेले १५ प्रतिशत बोनस पाउनसक्छ भने साधारणसभामा पनि सहभागी बन्न सक्नेछ ।