काठमाण्डौ । एनएमबी बैंकले आगामी साउन ३१ गते आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साउन ३१ गते बिहीबार(अगस्ट १६)का दिन बैंकले जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)मा दिउँसो २ः३० बजे वार्षिक साधारणसभा आह्वान गरेको हो । 

वार्षिक साधारणसभाले बैंकको हालको जारी पूँजी ७ अर्ब ६० करोडलाई वृद्धि गरी ८ अर्ब ७४ करोड पुर्याउने प्रस्ताव पारित गर्नेछ । 

यस्तै, बैंकको हालको चुक्तापूँजीको १५ प्रतिशतको दरले हुन आउने १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत स्वीकृत हुने बताइएको छ । यस्तै, बोनस सेयर प्रयोजनका लागि चुक्तापूँजीको ०.७८९५ प्रतिशत बराबर नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरिने बताइएको छ । 

साधारणसभामा मौद्रिक नीतिको व्यवस्था अनुसार धितोपत्र दलाल व्यवसाय संचालनका लागि आवश्यक एजेण्डा समेत पारित गरिने बताइएको छ । 

बैंकले साधारणसभा प्रयोजनका लागि साउन १७ गतेदेखि बुक क्लोज  गरेको थियो । यसको अर्थ साउन १६ गतेसम्म एनएमबी बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेले १५ प्रतिशत बोनस पाउनसक्छ भने साधारणसभामा पनि सहभागी बन्न सक्नेछ ।