काठमाण्डौ । एनएमबी बैंकको चुक्तापूँजी ८ अर्ब ७४ करोड पुगेको छ । 

बैंकको बिहीबार नेपाल प्रशासनिक प्रतिष्ठान(स्टाफ कलेज)मा सम्पन्न २२ औं वार्षिक साधारणसभाले संचालक समितिले गरेको आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गरेको हो । 

यो प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी ८ अर्ब ७४ करोडको उचाईमा पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

साधारणसभा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको थियो । 

हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।