काठमाण्डौ । एनएमबी बैंकको विदेशी रणनीतिक साझेदार यूरोपियन बैंक नेदरल्याण्ड फाइनान्सियरिङ(Nederlandse Financiering-Maatschappij Voor Ontwikkelingslanden N.V.(FMO) ले मर्जरपछि घटेको तीन प्रतिशत सेयर हिस्सालाई २० प्रतिशतमा पुर्याउन २ अर्ब ३५ करोड बढी लगानी भित्र्याउने भएको छ । 

एनएमबी बैंकमा ट्रिपल रेटेट यूरोपियन बैंकले करिब अढाई अर्ब रुपैयाँ विदेशी लगानी थप्नुले नेपालमा अन्य वैदेशिक लगानी भित्र्याउन सकारात्मक वातावरण बन्ने अपेक्षा गरिएको छ । 

एनएमबी बैंकको चारवटा बैंक तथा बित्तीय संस्थासँग सफल मर्जरअघि एफएमओको सेयर हिस्सा १४ प्रतिशत थियो । तर, एनएमबीले पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रूडेन्सियल फाइनान्सलाई गाभ्दा एफएमओको सेयर हिस्सा घटेर ३ प्रतिशतमा सीमित बन्न पुगेको थियो । 

एफएमओले एनएमबी बैंकमा आफूहरुको सेयर हिस्सा २० प्रतिशत हुनुपर्ने शर्त राखेको र सो शर्त अनुसार अघि बढ्न बैंकको २० औं साधारणसभाले संचालक समितिलाई अख्तियारी समेत दिएको भन्दै एनएमबी बैंकले एफएमओसँग सम्झौता भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिएको छ । 

बैंकको प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालका अनुसार एफएमओसँग प्रति सेयर अंकित मूल्य रु. १०० मा रु. १५० प्रिमियम थपी  जम्मा २ सय ५० रुपैयाँमा एफएमओले एनएमबी बैंकको सेयर खरीदको सम्झौता सेप्टेम्बर १४ मै भएको हो । बैंक संचालक समितिको भदौ ३१ गते बसेको बैठकले एफएमओमार्फत करिब अढाई अर्ब विदेशी लगानी एनएमबी बैंकमा भित्र्याउने बिषयमा भएको सम्झौता समेत अनुमोदन गरिसकेको छ । 

सीइओ पौड्यालले एफएमओले ९४ लाख कित्ता सेयर प्रिमियम मूल्य समे जोडी करिब अढाई अर्ब रुपैयाँमा खरीद गरी विदेशी लगानी नेपाल भित्र्याएपछि यसले राम्रो सन्देश जाने र नेपाल वैदेशिक लगानीका लागि भर्जिन ठाउँ हो भन्ने कुरा अन्य वैदेशिक लगानीकर्ताहरुले पनि बुझ्ने स्पष्ट पारे । 'यसले अन्य वैदेशिक लगानीका लागि समेत प्रेरित गर्नेछ ।' उनले भने-'बैंकमा अढाई अर्ब वैदेशिक लगानी यो अवस्थामा भित्रिनु निकै राम्रो पक्ष हो ।' 

हाल बैंकको चुक्ता पुँजी चार अर्ब ३८ करोड रुपैयाँ रहेकामा एफएमओको लगानी भित्रिएपछि एक अर्ब रुपैयाँ हाराहारीमा चुक्तापुँजी बढ्ने छ । पौड्यालका अनुसार १५० करोड रुपैयाँ भन्दा बढीको जगेडा कोष बन्नेछ । 

एनएमबी बैंकमा हाल एफएमओको ३ प्रतिशत, मलेशियन साझेदारको ७ प्रतिशत, सञ्चकोषको ९ प्रतिशत र बाँकी अन्यको लगान रहेको छ ।