काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १४.०६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्ममा पनि बैंकको सञ्चालन मुनाफा २ अर्ब ३४ करोड रुपैयाँ नै थियो। 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

समीक्षा अवधिमा बैंकले १ खब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको रिजर्भको आकार ८१.३९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खराब कर्जा दर ह्वात्तै बढेको छ । गत वर्ष ०.७९ प्रतिशत रहेको यो दर बढेर समीक्षा अवधिमा २.४८ पुगेको छ । 

समीक्षा अवधिमा बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ । गत वर्ष बैंकको आधार दर ९.९५ प्रतिशत रहेको थियो । बैंकको सीडी रेसियो भने ७६.१६ रहेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १८.६९ रुपैयाँ रहेको छ। बैंकको पीई रेसियो २०.१७ गुणा रहेको छ।