काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६.९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी पनि ९.६३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ५५ करोड ११ लाख रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा ४९ करोड ८० लाख रुपैयाँ दाबीभुक्तानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८.६१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २६ करोड १९ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च घटेर समीक्षा अवधिमा २३ करोड ९३ लाख रुपैयाँमा सीमित बनेको छ। 

अघिल्लो वर्ष ७९ करोड २२ लाख रुपैयाँमा सीमित बीमा कोषको आकार कम्पनीले बढाएर समीक्षा अवधिमा ८९ करोड ६३ रुपैयाँ पुर्याएको छ। जगेडा तथा कोषको आकार १९ करोड ८३ लाखबाट बढाएर ३१ करोड ९ लाख रुपैयाँको उचाइ चुमाएको छ। 

समीक्षा अवधिका कम्पनीले खुद नाफा १५.३४ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा १७ करोड ४२ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीको पुनर्बीमा कमिसनबापत आय २५ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आय २३ करोड ६८ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ७ करोड ७१ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ७ करोड ६० लाख रुपैयाँ थियो। 

अघिल्लो आर्थिक वर्ष १ लाख ७१ हजार १६४ वटा बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षमा १ लाख ६९ हजार ८३७ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१.३९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २०.९३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३५७.८० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३९.०१ रुपैयाँ रहेको छ।