काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ।

कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको थियो। सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट कम्पनीले वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीले आथिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद सेयर जारीपश्चात कायम भएको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

कम्पनीको आ.व. २०७५/७६ को वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आम्दानी रु. १६६ करोड ६० लाख, खुद बीमाशुल्क आम्दानी रु. ७० करोड १७ लाख र खुद नाफा रु. २० करोड २४ लाख रुपैयाँ रहेका छन्।  कम्पनीको कुल लगानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २ अर्ब १३ करोड ४८ लाख पुगेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको कुल कारोबार अघिल्लो वर्षको तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई रु. १ अर्ब ६६ करोड ६० लाख बीमाशुल्क आर्जन गरेको छ।