काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब चुक्ता पुँजी पुर्याउन ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ।

कम्पनीको हिजो बुधबार काठमाण्डौमा सम्पन्न तेस्रो वार्षिक साधारणसभामा कम्पनी विमलप्रसाद वाग्लेले छिटै हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएका हुन् । अध्यक्ष वाग्लेले हकप्रद सेयर जारी गर्न स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराइसकेको पनि बताए ।

अध्यक्ष वाग्लेले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्न नसकिएको पनि बताए । ‘विगतका वर्षहरुमा कम्पनीले नियमित लाभांश प्रदान गर्दै आएको थियो’, उनले भने, ‘तर यसपटक बिमा समितिको निर्देशनअनुसार नयाँ ढाँचाअनुसार नेपाल वित्तीय प्रतिवेदनमान प्रणालीबाट वित्तीय विवरण तयार गर्दा विभिन्न किसिमको व्यवस्था तथा जगेडामा रकमान्तर गर्नुपर्दा लक्ष्यअनुसार लाभांश वितरण गर्न सकिएन ।’

कम्पनीले आर्थिक वर्ष २०७५/७६ कुल कारोबार अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १०.६८ प्रतिशतले वृद्धि गरी रु १६६.५७ करोड बीमा शुल्क आर्जन गरेको थियो । 

साधाराणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण प्रतिवेदनहरुलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरेको छ ।