काठमाण्डौ ।  एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ । 

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६-१०-२६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि दस शेयर बराबर नयाँ छ शेयर (१० ः ६) को अनुपातमा प्रति शेयर रु. १०० अंकित दरको ३८,४२,४३७.५० कित्ता हकप्रद शेयरको लागि मिति २०७६-११-२२ गतेका दिन देखि मिति २०७६-१२-१२ गतेसम्म निष्काशन तथा विक्री खुल्ला गरिएको थियो ।

मिति २०७६-१२-१० गते अहिलेको विषम परिस्थितिलाई लिएर नेपाल सरकारबाट आएको आब्हान समेतलाई मध्यनजर राखी तथा कम्पनीको प्रकाशित विवरणको दफा“र” मा भएको व्यवस्थाअनुसार यस हकप्रद निष्काशनको लागि दरखास्त दिने म्याद मिति २०७६ चैत्र २७ गते बैकिङ्ग समयसम्म थप गरिएकोमा नेपाल सरकारद्वारा मिति २०७६-१२-११ गते देखि नोबेल कोरोनाभाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा रोक लगाउने थप अबधिको घोषणा भएकोले लगानीकर्ताहरुको हितलाई मध्यनजर गरी परिस्थिति सहज भए पश्चात आवश्यकता हेरी नियमन निकायको स्वीकृति लिई उक्त शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला तथा बन्द सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिने व्यहोरा समेत यसै बिज्ञप्ती मार्फत सम्पूर्ण लगानीकर्ताहरुलाई जानकारी गराइएको छ ।