काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) मा सर्वसाधरण सेयरधनीका तर्फबाट सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्।

आगामी चैत १३ गते हुने नेपाल टेलिकमको १३ औँ वार्षिक साधारणसभाले पौडेललाई आधिकारिक रुपमा सञ्चालकमा निर्विरोध चयन गर्नेछ। सञ्चालकका लागि पौडेलको मात्र उम्मेदवार परेकोले उनी स्वतः निर्विरोध भएका हुन्।  

सञ्चालकका लागि मनोनय गर्दा गर्ने आज अन्तिम दिन रहेको थियो। नेपाल टेलिकम स्रोतका अनुसार सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा पौडेलको मात्र उम्मेदवारी परेको छ।

पौडेल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा चन्द्रागिरी हिल्सका पनि सञ्चालक हुन् । 

नेपाल पुँजीबजार संघका अध्यक्ष छोटेलाल रौनियारले सञ्चालकमा पौडेलको प्रवेशले अब नेपान टेलिकम झन सशक्त र प्रतिस्पर्धी बन्ने बताए। अब नेपाल टेलिकमले भेट्रान लगानीकर्ता सञ्चालकका रुपमा पाएकोले त्यहाँ राम्रा र सुधारका कार्यक्रम आउने रौनियारले बताए। ‘नयाँ–नयाँ रणनीति र योजनाका साथ प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल टेलिकम अगाडि बढ्ने सम्भावना छ’, उनले भने। 

‘विगतमा कर्मचारीले मात्रै चलाएको यो कम्पनीमा अब सर्वसाधरणका पनि सहभागिता भएसँगै पुँजी पनि बढाउनेछ’, रौनियारले भने, ‘पुँजी वृद्धिका लागि आगामी दिनमा लगानीकर्तालाई बोनस सेयर दिन सक्नेछ।’

नेपाल टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत, सर्वसाधारण र कर्मचारीको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत हिस्सा रहेको छ। 

चुक्तापुँजी १५ अर्ब रहेको नेपाल टेलिकमको गत आर्थिक वर्षको असार मसान्तसम्म ७८ अर्बभन्दा बढी सञ्चित मुनाफा रहेको छ।