काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता पश्चात अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच(एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस(एनपीआई)सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । 

यो सहकार्यले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।        

यसरी एनपीआईमा जोडिएपछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले अजोड इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।       

अजोड इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै १० जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआईमा आबद्ध रहेका छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७१ गैरबैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।