काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क र सामाजिक सञ्जाल कम्पनी ट्विटरबीच अहिले मुद्दा चलिरहेको छ। इलोन मस्कले ट्विटर किन्ने प्रस्ताव गरेदेखि नै यस विषयमा विश्वभर चर्चा चलिरहेको छ। अहिले मस्क र ट्विटरको यो मुद्दा अमेरिकी अदालतमा छ। 

अर्कोतर्फ मस्कले आफ्ना तर्फबाट ट्विटर किन्ने तयारी फेरि गरिरहेको संकेत पनि गरेका छन्। विद्युतीय सवारीसाधन कम्पनी टेस्लाको अर्बौं डलरको स्टक बेच्दा फेरि पनि त्यही कुराको संकेत देखिएको हो।

रोयटर्सको रिपोर्टका अनुसार टेस्लाका सीईओ एलन मस्कले ७.९२ मिलियन डलरबराबरको कम्पनीमा रहेको आफ्नो सेयर फेरि बेचेका छन्। टेस्लाले यसबारे मंगलबार सेक्युरिटी फाइलिङमा नियामकलाई जानकारी पनि गराएको छ। 

यसअघि गत अप्रिलमा मस्कले टेस्लाको ८.५ बिलियन डलरबराबरको सेयर बेचेका थिए। मस्कले त्यसबेला ट्विटर किन्नका लागि आफ्नो ४४ बिलियन प्रस्ताव वित्तपोषण गर्न टेस्लाको सेयर पनि बेचेका थिए। तर, त्यसपछि मस्कले टेस्लाको थप सेयर बेच्ने आफ्नो कुनै योजना नभएको पनि बताएका थिए। 

त्यसअघि मस्कले कर तिर्न टेस्लाको शेयर पनि बेचेका थिए। टेस्लाको सेयरको नयाँ बिक्रीले मस्क अझै पनि आफ्नो तर्फबाट ट्विटर किन्न तयार हुँदा कुनै कसर छोड्न चाहँदैन भन्ने अनुमानलाई बढावा दिइरहेको छ। अदालतको फैसलापछि ट्विटर किन्नुपर्यो भने अग्रिम रकम जुटाएर यस्तो अवस्थाका लागि तयार हुन उनी चाहेको देखिन्छ। 

सेक्युरिटी फाइलिङका अनुसार मस्कले अगस्ट ५ र अगस्ट ९ को बीचमा टेस्लाको यो नयाँ सेयर बिक्री गरेका हुन। यो बिक्रीपछि अब मस्कसँग टेस्लाको १५५.०४ मिलियन सेयर बाँकी छ। 

गत जुलाई २० मा टेस्लाले आफ्नो त्रैमासिक नतिजा जारी गरेको थियो। त्यसयता कम्पनीले सोचेभन्दा राम्रो आम्दानी गरेका कारण यसको स्टक करिब १५ प्रतिशतले बढेको छ। 

अमेरिकी सरकारले विद्युतीय सवारीसाधनको कर ऋण सीमा हटाउने निर्णयले पनि कम्पनीलाई सहयोग गरेको छ। –एजेन्सी