काठमाण्डौ। लिभिङ विथ आईसीटीद्वारा वार्षिक रुपमा आयोजना गरिँदै आएको आईसीटी अवार्डस् २०२१ अन्तर्गत ‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’  को विधामा यस वर्ष नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको छ। 

गत पुस २ गते आयोजन गरिएको अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवं प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो। जसअन्तर्गत ‘डिजिटल सर्भिसेस’को विधामा एनसीएचएललाई अवार्ड प्राप्त गरेको हो। 

डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको हो। भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ (एनसीएचएल–ईसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी (एनसीएचएल–आईपीएस), कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्टस इन्टरफेस (एनपीआई) र कर्पोरेट पेलगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउँदै आएको छ। 

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्बबराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। जसअन्तर्गत नेपाल सरकारको विभिन्न निकाय, संस्थान, पुँजी बजार, बीमा, रेमिट्यान्स, ठूला संस्थाहरुलगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ।  

हालै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्यूआरलगायतका विद्युतीय भुक्तानीका माध्यमबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन एनसीएचएलले नेसनल पेमेन्ट स्विचको कार्यान्वयनसमेत थालनी गरेको छ।  

‘डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१’ ले एनसीएचएललाई आफूले गर्दै आएका कामप्रति थप जिम्मेवारी बोध गराएको छ। उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको एनसीएचएलले जनाएको छ।