काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले गत आर्थिक वर्ष २०७६/७७ असार मसान्तभित्र कुल २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको छ। जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो। 

विभिन्न भुक्तानी प्रणालीमार्फत भएका ती कारोबार मूल्यका आधारमा नेपाली रुपैयाँ ९६.८ खर्ब, ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१ करोड पाउन्डबराबर रहेका छन्। यससँगै राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धिदर ५८.८ प्रतिशत पुगेको छ। 

हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीमार्फत दैनिक औसत रु. ३६.२ अर्बबराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेको जनाइएको छ। 

एनसीएचएलका एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीसी र कनेक्ट आईपीएसलगायतका विभिन्न भुक्तानी तथा फछ्र्याैटका प्रणालीहरु सञ्चालनमा छन्। यसका साथै एनसीएचएलले विभिन्न संस्थाको भुक्तानी कारोबार थप सहज बनाउन नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) तथा कनेक्ट आरटीजीएस पनि सञ्चालन गर्दै आएको छ। 

विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनआईपीमार्फत हाल बैंक तथा वित्तीय संस्था, पीएसपी/पीएसओलगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ। यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानीलगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आर्थिक वर्षमा रु. २१९ अर्बबराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा रु ३.१२ अर्बबराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरुमार्फत भएका छन्।  

कोभिड–१९ महामारीका कारणले गत चैत ११ बाट भएको लकडाउनको अवस्थामा पनि एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीले सर्वसाधारण तथा बैंकिङ क्षेत्रलाई ‘नो–क्यास’ कारोबार गर्न आवश्यक सहयोग पुर्याउँदै आएको थियो। लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणालीमार्फत ५२.५ लाख भुक्तानी कारोबार भएका थिए।

एनसीएचएल–ईसीसी र एनसीएचएल–आईपीएसका लागि सेवाग्राही बैंककै शाखा पुग्नुपर्ने भए पनि कनेक्ट आईपीएसमार्फत भने बैंक शाखा नपुगी अनलाइनबाटै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ। यसै कारणले गर्दा लकडाउनअघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आईपीएसमा असारमा भने २.५ अर्बबराबरको दैनिक औसत कारोबार भएको एनसीएचएलले जनाएको छ। 

हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन गत साउन १ गतेबाट एनसीएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ।  

नेपाल राष्ट्र बैंकसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स प्राप्त संस्था हो। एनसीएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासका लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थालाई प्रदान गर्दै आएको छ। यसमा बैंक वित्तिय संस्था, पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेप्से तथा अन्य विभिन्न संस्थालगायत १०२ सदस्य रहेका छन्।