काठमाण्डौ । ब्रोकर कमिसन कटौतिको झिनो राहत पाएका लगानीकर्तामाथि अब अन्य व्ययभार बढ्ने भएको छ ।

अब ब्रोकरहरुबाट बनाइने टीएमएस(ट्रेडिङ म्यानेजमेन्ट शुल्क) को लागत बढेसँगै लगानीकर्ताबाट वार्षिक सदस्यता शुल्क र ट्रान्जेक्सन फी भनी थप शुल्क असूल गर्ने तयारी भइरहेको छ ।

यो शुल्क त तिर्नुपर्ने नै हुन्छ तर, यतिबेला लगानीकर्ताहरुले एनसीएचएलबाट रकम हस्तान्तरण गर्दा समेत दुवै तर्फको व्ययभार तथा लागत बेहोर्नु परिरहेको छ । सेयर खरिदबिक्रीपछि चेकबाट भुक्तानी गर्दा (इलेक्ट्रोनिक चेक क्लियरिङ)मा रु.१०० सम्म दुवै तर्फ बेहोर्ने व्यवस्था कायम थियो तर पछिल्लो समयमा कोभिड १९ को असरले गर्दा अधिकांश रकम हस्तान्तरणमा एनसीएचएलको कनेक्ट आइपीएस र आइपीएसमार्फत लाग्ने शुल्कको भार भने लगानीकर्ताहरुलाई मात्रै बोकाइएको छ । 

ब्रोकर र एनसीएचएलको सहमतिमा बनेको यो किसिमको चार्जका विषयमा भने लगानीकर्ता बेखबर छन् । एनसीएचएलको कनेक्ट आइपीएसबाट सेयर किनबेचपछि रकम हस्तान्तरण गर्दा कारोबारको सीमाअनुसार रु.२ देखि रु.१० सम्म शुल्क लगानीकर्ताहरुको थाप्लोमा थुपारिएको छ भने एनसीएचएलकै आइपीएसमार्फत रकम हस्तान्तरण गर्दा कारोबार सीमाका आधारमा रु.२ देखि रु.१५ सम्म लागत लगानीकर्ताले नै व्यहोर्दै आइरहेका छन् ।

धितोपत्र बोर्डले हालसालै एकतिहाई कमिसन कटौती गरेतापनि स–साना थुप्रै शुल्कबाट लगानीकर्ताहरुको ढाड सेक्ने काम भइरहेको छ।

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले हाल निःशुल्क दिइरहेको टीएमएस सञ्चालन अब ब्रोकर स्वयम्ले गर्नुपर्ने र उनीहरुले नयाँ टीएमएस बनाउनमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले समेत ग्रीन सिग्नल दिएपछि ब्रोकरहरुले ६ महिनाअघि नै पूँजीबजारको प्राविधिक पक्ष मजबुत बनाउने भन्दै नयाँ आइटी कम्पनीका रुपमा क्यापटेक नेपाल नामक कम्पनी खडा गरिसकेका छन् ।

क्यापटेक नेपालको अधिकृत पूँजी २५ करोड रुपैयाँ रहेको छ, जसमध्ये हाल कम्पनीको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । सिटी टेक सोलुसन नामको कम्पनी २० प्रतिशत साझेदारका रुपमा रहेको छ ।

क्यापटेकमा बिनापैसा बोर्ड अध्यक्ष ढुंगानाको लगानी !
पचासवटै ब्रोकर कम्पनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको गोप्य सहमतिमुताबिक कम्पनी दर्ता भएको स्रोत जिकिर गर्छ । 

बोर्ड अध्यक्षलाई भने गोप्य रुपमै ५ प्रतिशत सेयर हिस्सा क्यापटेक नेपालको तर्फबाट छुट्याइएको स्रोतको दाबी छ । यसरी बजारको नियामकको प्रमुखले पाएको गोल्डेन सेयरको बिषयमा छानबिन हुनुपर्ने आवश्यकता देखिन्छ । 

पचास वटै ब्रोकर कम्पनी मिलेर टीएमएस बनाउन ‘क्यापटेक नेपाल’ नामक कम्पनी दर्ता गरेको ६ महिनासमेत बित्यो तर, कम्पनीका सञ्चालकहरुले टीएमएस निर्माणका लागि हालसम्म सिन्को भाँच्ने कामसमेत गरेनन् ।

बोर्ड अध्यक्ष र ५० ब्रोकर कम्पनीको योजना त्यतिबेला तुहियो जतिबेला नेपाल स्टक एक्सचेञ्जले ५० ब्रोकर कम्पनीको एकल लगानी रहेको एक कम्पनीलाई मात्रै डाटा नदिने बतायो । ब्रोकर कम्पनी स्वयम्ले टीएमएस बनाएको खण्डमा मात्रै डाटा दिने नेप्सेले स्पष्ट पारेको छ । यही नेप्सेको कदमले क्यापटेकको योजना तत्कालका लागि ब्रेक लागेको स्रोत बताउँछ । 

अधिक भारले उच्च प्राविधिक जोखिम
नेपाल स्टक एक्सचेञ्जका अनुसार हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या बढेर ४ लाख ६४ हजार पुगेको छ । यो तथ्यांक एक वर्षमै दोब्बर भएको हो भने यो बढ्ने क्रम बुलिस बजार भएकाले अझै निरन्तर रहने प्रक्षेपण गर्न सकिन्छ । 

अनलाइन कारोबार प्रणालीमा आवद्ध हुनेको संख्या २ लाख ६२ हजार प्रयोगकर्ता नाघेको छ । यो तथ्याङ्क एक वर्षमा १००० प्रतिशतले वृद्धि भएको हो ।

अहिले पनि नेप्सेको अनलाइन कारोबार प्रणालीमा केही समस्या यथावत नै छ । प्रविधि र रिसोर्सको दायरा अंकगणितीय दरमा बढिरहेकोमा प्रयोगकर्ता भने ज्यामितीय दरमा बढिरहेका छन् । टीएमएसमा अधिक भार भएकै कारण बेलाबेलामा सिस्टम नै डाउन हुनेदेखि कारोबार नै प्रभावित हुने समस्या दिनानुदिन जटिल बन्दै गइरहेको छ । भित्रभित्रै समस्या बल्झिरहँदा ब्रोकर, नेप्से र वाइकोबीच पनि खटपट हुन थालेको छ । यी निकायबीच समन्वय नहुँदा जुनसुकै बेला उच्च प्राविधिक जोखिम निम्तिनसक्ने खतरा रहेको स्रोत दाबी गर्छ ।