काठमाण्डौ । सेयर खरिदबिक्रीबापत भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ। 

सेयर किनबेच गर्दा खरिदबिक्रीबापतको रकम भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिदबापत रकम भुक्तानी गर्दा र सेयर बिक्री गरेपछि पाउनुपर्ने रकममा समेत लगानीकर्ताहरुले आईपीएस चार्ज रु. २  देखि रु. १५ तिरिरहेका छन्। यसको अर्थ सेयर किन्दा र बेच्दा नै भुक्तानी हस्तान्तरण शुल्कका नाममा लगानीकर्तामाथि दोहोरो भार पार्ने काम भइरहेको छ। 

पछिल्लो समयमा ५ लाख बढी लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन् र औसत सेयर दैनिक कारोबार संख्यामात्रै ८० हजार हाराहारी भइरहेका छन्। अर्बौंको टर्न ओभर हुँदा सबै लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपर्ने बाध्यता रहेको देखिन्छ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले सबैतिर विविध शीर्षकमा विविध दस्तुर तिर्दातिर्दा पिल्सिएका लगानीकर्ताहरुमाथि एनसीएचएलको आईपीएस चार्जले मर्का परिरहेको बताए। आईपीएस चार्ज कम गर्ने विषयमा संघका तर्फबाट बोर्डसमक्ष पहल भइरहेको उनले दाबी गरे। पुनः यस विषयमा बोर्डसँग छिट्टै छलफल गरेर जोडदार रुपमा आईपीएस शुल्कका विषयमा ध्यानाकर्षण गराइने फुल्लेल बताउँछन्।

एनसीएचएलको आईपीएस चार्जमा लगानीकर्तामाथि थोपरिएको दोहोरो शुल्क अमान्य हुने उल्लेख गर्दै दबाब समूहका महासचिव नयन बास्तोलाको कारोबार संख्या धेरै भएकाले सो शुल्क एकतर्फीमात्र हुनुपर्ने अडान छ।

सक्रिय सेयर लगानीकर्ता किशोरकुमार श्रेष्ठ एनसीएचएलले कनेक्ट आईपीएस चार्जबापत लगानीकर्ताबाट दोहोरो शुल्क असुल गरिरहेको विषयमा नयाँ लगानीकर्ता नै जानकार नभएको बताउँछन्। लाभग्राहीले मात्र सो शुल्क तिर्नुपर्ने उनको ठहर छ।

बढ्दो बजारमा न्यून शुल्क थोरै देखिए पनि कालान्तरसम्म लगानीकर्तालाई सेयर खरिदबिक्रीबापतको आईपीएस शुल्कबाट दोहोरो मार पर्ने देखिन्छ। अनिवार्य रुपमा विद्युतीय माध्यमद्वारा सेयर खरिदबिक्रीबापतको रकम भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएस शुल्कबापतको लगानीकर्तामाथि थपिएको दोहोरो भारका विषयमा भने नियामक नेपाल धितोपत्र बोर्डले आवश्यक कदम चाल्न आवश्यक देखिन्छ। लगानीकर्ताहरुको हकहितका लागि स्थापित धितोपत्र बोर्डले सेयर किनबेचमा रकम हस्तान्तरणमा लाग्दै आइरहेको दोहोरो शुल्कबाट मुक्त गर्नुपर्छ।