काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै १० औँ वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ। 

सभाले कम्पनीको चुक्तापुँजी रु.४१.१ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु.५६.७६ करोड पुर्याउनुका साथै अधिकृत पुँजी रु. १ अर्ब पुर्याउने निर्णय गरेको छ। यसका साथै बोनस सेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले पुँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्विचअन्तर्गतको हाल कार्यान्वयनमा रहेको  पूर्वाधार स्थापना गर्न उक्त पुँजी प्रयोग गर्नेछ। 

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोबार शुल्क अत्याधिक रुपमा घटाए पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको र अघिल्लो आर्थिक वर्षको ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोबारको शुल्कमा छुट दिएको कारण आर्थिक वर्ष २०७७/७८मा कम्पनीको खुद नाफा ३८ प्रतिशतले वृद्धि भएको छ। 

त्यसै गरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशतबराबरको नाफा प्राप्त गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्रै वृद्धि भएको छ। 

सभाले कम्पनीको सञ्चालक समितिमा दुईजना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ। बिकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ निर्वाचित भएका छन्। 

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंककातर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एकजना र फाइनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना प्रतिनिधि छन्।

कम्पनीले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएसलगायतका भुक्तानी प्रणालीमार्फत आर्थिक वर्ष २०७७/७८ मा कुल १३०.४३ खर्बबराबरको ४.४८ करोड भुक्तानी कारोबार राफसाफ गरेको थियो। आर्थिक वर्ष २०७७/७८ मा ६० सदस्य बैंक तथा वित्तीय संस्थाका ५ हजार ७२८ शाखाहरुबाट कम्पनीले आफ्ना सेवा प्रदान गरिरहेको छ भने कम्पनीमा ६२ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट र टेक्निकल मेम्बरका रुपमा आबद्ध छन्।