काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स(एनसीसी) बैंकका तीनैजना डेपुटी सीईओहरुले स्वेच्छिक अवकाश योजना(भीआरएस) रोजेका छन्। 

कुमारी बैैंकसँग मर्ज हुने प्रक्रियामा रहेको एनसीसी बैंकले मर्जरपछि उच्च व्यवस्थापनमा रहेका कर्मचारीको व्यवस्थापनमा आउनसक्ने कठिनाइलाई मध्यनजर गर्दै केही समयअघि भीआरएस स्किम सार्वजनिक गरेको थियो। सो स्किम रोजेका बैंकका तीनैजना डेपुटी सीईओ र एक डीजीएमसहित १३ उच्च तहका कर्मचारीहरु बिदा हुने निश्चित भएको हो।

बैंक उच्च स्रोतका अनुसार एनसीसी बैंकका डेपुटी सीईओत्रय बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीपप्रसाद पाण्डेले भीआरएस रोजेका छन्। 

यस्तै डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत विनोदकुमार शर्माले पनि भीआरएस नै रोजेका छन्। यी ४ उच्च अधिकारीसहित बैंकका विभिन्न तहमा कार्यरत १३ जनाले भीआरएस स्किम रोज्दै आवेदन दिएका र सबैको आवेदन स्वीकृत भइसकेको स्रोतले जानकारी दिएको छ। 

भीआरएस रोजेका तीन डेपुटी सीइओमध्ये एक बन्दना पाठकले सामाजिक सञ्जालमा सो कुराको पुष्टि गरेकी छिन् । उनले आफ्नो एनसीसी बैंकमा अन्तिम कार्यदिन भन्दै बैंक परिवार र सहकर्मीलाई सामाजिक सञ्जालमार्फत विदाई म्यासेज समेत पोस्ट गरेकी छिन् ।

 

आवेदन दिएकामध्ये सेवा अवधिका आधारमा बढीमा २४ महिनाबराबरको तलबसम्मको सेवासुविधा एकमुष्ट लिएर कर्मचारीहरुले भीआरएस लिएका छन्। 

एनसीसी बैंक र कुमारी बैंक अहिले मर्जर प्रक्रियामा रहेका छन्। मर्जरको सम्झौता हुँदै गर्दा अब बन्ने बैंकको नाम कुमारी बैंक नै रहने सहमति जुटिसकेको छ। मर्जरपछि बन्ने कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका अहिलेका सीईओ रमेशकुमार अर्याल नै रहनेछन् भने कुमारी बैंकका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी सीईओ बन्ने सहमति भइसकेको छ। 

दुई बैंक मर्ज हुँदा एनसीसी बैंकका ३ जना नै सीईओ रहेका भए उच्च तहका कर्मचारीहरुको व्यवस्थापनमा सकस पर्न सक्थ्यो। सम्भावित सकसको जोखिमलाई एनसीसी बैंकको नेतृत्वले निकै बुद्धिमतापूर्वक मर्जरअघि नै व्यवस्थापन गर्ने सफलता पाएको छ। 

तीन सीईओ र एक डिजिएमको विदाई हुने भएपछि अब एनसीसी बैंकमा सीईओपछिको बरियतामा डिजिएम मुकुन्द सुवेदी मात्र रहेका छन्। 

एनसीसी र कुमारी बैंकले मर्जर सकी एकीकृत कारोबार पुस १५ गतेभित्र गरिसक्ने योजना बनाएका छन्।