काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडको वार्षिक साधारणसभाले १०.२६९५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । 

माघ ९ गते शुक्रबार काठमाण्डौमा सम्पन्न २३ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयर वितरण गर्ने अजेण्डा सर्वसम्मतले पारित गरेको हो । 

बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक ०.५४०५ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ । 

यस्तै, साधारणसभाबाट संस्थापक समूह “क” बाट तीन (३) जना र सर्वसाधारण समूह “ख” बाट एक (१) जना महिलासहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । 

साथै साधारणसभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयनको समेत निर्णय भएको छ । समूह “क”बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमानसिंह लामा निर्वाचित भएका छन् समूह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । 

सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयरपश्चात बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुगेको छ । 

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।