काठमाण्डौ । विगत केही दिनदेखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केही डिलरहरुले जारी राखेको आन्दोलन गैरकानूनी र अर्थहीन रहेको एनसेलले प्रष्टाएको छ ।  

एनसेलले एक विज्ञप्तिमार्फत केही डिलरले कम्पनीका बारेमा झुठा तथा आधारहीन आरोप लगाउँदै भ्रम फैलाउने काम  गरेका र कम्पनीका कर्मचारीउपर व्यक्तिगत गालीगलौज, लाञ्छना तथा चरित्रहत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्यसंचालनमा व्यवधान पुर्याउने जस्ता गैरकानूनी काम गरेका भन्दै आपत्ति जनाएको हो ।

एनसेलले जारी आन्दोलनको बिषयमा यसरी प्रष्ट्याएको छ :

►एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पुर्याउन तथा बिक्रीबितरणका लागि ५ वटा वितरकमार्फत कार्य गर्दै आएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोही सम्झौताअन्तर्गत रही काम गर्दै आएका छन् । केही डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज गरेको छैन ।

►डिलरको नियुक्ति बितरकले आफ्नो व्यवसायिक योजना तथा आवश्यकता बमोजिम गर्ने गरेका हुन्छन् । डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था छैन, यसर्थ एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन । त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउँदैन । डिलरको नियुक्ति वा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका रहँदैन । यो नितान्त बितरकको कार्याधिकारमा पर्ने कुरा हो ।

►एनसेलले उच्च मानवीय मूल्यसहितको कार्यसंपादन संस्कृति अबलम्बन गरेको छ । कम्पनीले सँधै ग्राहकलाई लाभ प्रदान गर्ने उद्देश्य पूर्तिका लागि आफ्नो कार्य क्षमतामा अभिवृद्धि गर्न विभिन्न व्यवसायीकरण नीतिहरु अंगिकार गर्दै तिनको निरन्तर कार्यान्वयन गर्दै आएको छ । यो निरन्तर चलिरहने अभ्यास हो, जसले बजार तथा अर्थतन्त्रमा नयाँ अवसरहरु पनि सृजना गर्दछ ।

►कम्पनीले आफ्नो व्यावसायिक तथा कानूनी अधिकारभित्र रही ग्राहक सेवालाई थप सुदृढ गर्न आफ्ना कार्यसञ्चालनमा थप नविनता तथा सुधार गर्नु एउटा सामान्य प्रक्रिया हो । यस प्रयास अन्तर्गत एनसेलले विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई–टपअपको अझ चुस्त व्यवस्थापनका लागि जोनल एजेन्ट नियुक्त प्रक्रिया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ । साथै डिलरलाई पनि जोनल एजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई काम गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलता तथा लाभ बमोजिम बितरक तथा जोनल एजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सृजना गर्ने रहेको छ । यसले सबै पक्षलाई लाभ प्रदान गर्नेछ ।

►कुनै पनि समायोजन गर्दा एनसेलले सधै सम्बन्धित पक्षलाई संलग्न गर्दै र ग्राहक सेवा तथा प्रतिस्पर्धालाई योगदान पुर्याउने खालका प्रतिक्रिया तथा रचनात्मक सुझावलाई खुला हृदयले ग्रहण पनि गर्दै आएको छ । यस कार्यमा डिलरलाई कुनै पनि जानकारी चाहिए वा प्रतिक्रिया रहे उनीहरुलाई नियुक्त गर्ने वितरकसँग कुरा राखी आफ्नो समस्याको समाधान गर्न सक्छन् । तर, त्यसो नगरी केही डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जत गर्ने, व्यक्तिगत गालीगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने जस्ता अवाञ्छित गतिविधि गरेकोमा यस एनसेल प्रा. लि. खेद व्यक्त गर्दछ ।  साथै सम्बद्ध डिलरलाई यी लगायत यस किसिमका भ्रामक गतिविधि तथा जनमानसको दुरसंचार जस्तो अत्यावश्यक सेवामा असर पार्ने खालको कुनै पनि कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ ।

►एनसेल आफ्ना आदरणीय ग्राहक महानुभावहरु तथा साझेदारहरुको निरन्तर सहयोगको लागि आभार ब्यतm गर्दछ । आफ्ना ग्राहकको संचार सेवामापहुँच सुनिश्चित गर्न कम्पनी सँधै प्रतिबद्ध रहेको छ ।