काठमाण्डौ । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र  भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । 

यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागू हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको हो । २ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र रु ९५.७७ मा २ जिबी डेटा भोलुमको मज्जा लिन सक्नेछन् । यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्कभित्र करसहित मात्र रु १.२८ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् । 

त्यसैगरी, ६ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी प्लस २ जिबी भिडियो डेटा)को मज्जा लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् । 

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने मेरो प्लानको विशेषता रहेको र यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन्।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । 

यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनका लागि मोवाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट करसहित रु २.५४ मा प्रयोग गर्न सक्नेछन् ।