काठमाण्डौ । काठमाडौं महानगरपालिकाले जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । 

काठमाडौं महानगरपालिका कार्यालयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदरपत्र प्रदान गरेको हो ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा सो सम्मान प्रदान गरिएको हो । सो समारोहका प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई सो कदरपत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिकाकार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढी भुक्तानी गरी महानगर निर्माणमा अतुलनीय योगदान गरे बापत” एनसेललाई सम्मान गरिएको हो । महानगरपालिका कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यालयले रु ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदान एनसेलको थियो । 

निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको सम्मान पाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवा लिएका छन् ।