काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागू हुने गरी विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ। नयाँ शुल्कहरु नेपाल दूरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दरअनुसार नै रहेका छन्। 

गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्यान्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरी १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो। प्राधिकणबाट प्राप्त यो स्वीकृतिसँगै यी देशहरुका लागि एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क अब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँगबराबर भएको छ। 

नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्कअनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क करबाहेक प्रतिमिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रति मिनेट कल शुल्क करबाहेक रु ३०.६५ निर्धारण भएको छ। यसअघि यी देशहरुमा कल गर्दा गन्तव्य देशअनुसार प्रति मिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो। अझै पनि माल्दिभ्सका लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवा प्रदायकले लिने शुल्कभन्दा निकै नै कम रहेको छ।

अन्तर्राष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ। साथै, यसअघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय शुल्क अन्य सेवा प्रदायकहरुको स्वीकृत कल शुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकलाई अन्तर्राष्ट्रिय कल सुविधा प्रदान गर्दै आएको थियो। 

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तर्राष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ। विगत ५ वर्षमा एनसेलले अन्तर्राष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोडभन्दा बढी नोक्सान भोगेको छ। केही युरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढी रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जनपश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहनेछ। प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देशअनुसार कुनै—कुनै युरोपियन गन्तव्यहरुको कल शुल्क करबाहेक रु १,१७०.३० सम्म रहेको छ।

गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउँदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न कम्पनी प्रतिबद्ध रहेको एनसेलले जनाएको छ। एक जिम्मेवार कपोर्रेटका रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको उल्लेख गरेको छ। 

स्थापनाकालदेखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरुबापत रु २४२ अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाएको छ। देशको एक सबैभन्दा ठूलो करदाताका रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भूमिका रहेको छ र देशको हितका लागि दिगो व्यवसाय सञ्चालनलाई निरन्तरता दिँदै जानेछ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत हालसम्म रु १ अर्ब २७ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाएको छ।