काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रड गर्न सक्छन्। 

एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ९) देखि आफ्ना ग्राहकलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन्।

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ। यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।

एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ई–मेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्दछ। ई–सिम सुचारु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। नयाँ ग्राहकले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पूरा गरी ई–सिम लिन सक्छन्।

ई–सिम सुविधा लिनका लागि ग्राहकका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ। ग्राहकले आफ्नो मोबाइल ई–सिम चल्ने वा नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डालय गर्न सक्छन्। यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी)सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ। 

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरु उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरुप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ। उपभोक्ता र व्यवसाय दुवैमाझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै– आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ। त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलमा एकभन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ। यद्यपि एकपटकमा एकमात्र नम्बर सक्रिय रहन्छ। 

ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गसमा पनि ठूलो महत्व राख्दछ। विकसित देशहरुमा यो कार, घरायसी सामान र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ।