काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत सञ्चालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन्। सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रका पनि उद्घाटन गरेका थिए। 

प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उद्देश्य हो। यस पहलअन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा सञ्चालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ। धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधनजस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ। अस्पतालले कार्यक्रमलाई सफलता पुर्वक सञ्चालन गर्न आवधिक ट्रेनिङहरु र अनुगमनलगायतका कामहरु पनि गर्नेछ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम सञ्चालन हुनेछ। यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जनसमुदायलाई सेवा प्रवाह गर्दछ। कार्यक्रम सञ्चालनमा आएपछि स्थानीयहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन्। अबको चार वर्षमा यो कार्यक्रम २० वा सोभन्दा बढी स्वास्थ्य केन्द्रमा लागू गर्ने एनसेलको योजना रहेको छ। 

कार्यक्रमका बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ। स्वास्थ्य सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौँ। यो सहकार्य बहुआयामिक छ किनकी यो डिजिटल डिभाइड घटाउने हाम्रो आकांक्षासँग मिल्दो छ। स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानीय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौं।”

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दूरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो। यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) पनि समावेश गरिएकोले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो। आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौं। चाँडैभन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन उपकरणहरु जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौं।”

टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा रामकण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर शिद्ध गरेको छ। स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पनाअनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौँ।” 

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई सञ्चालन हुनेछ। टेलिमेडिसिनअन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा सञ्चालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सीधै सम्पर्क स्थापित गराई स्थानीय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।    

पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका जन समुदायका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन्। जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन्। पीएचपीलाई कार्यक्रम सञ्चालन गरिने समुदायहरुभन्दा बाहिरसमेत लाने उदेश्यका साथ जनसमुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्यांकमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो। 

एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम सञ्चालनको लागि सम्झौता गरेको थियो। यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण र दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको छ।