काठमाण्डौ । अमेरिकाको स्मार्टफोन निर्माता कम्पनी एप्पल इंक इलेक्ट्रिक कार बनाउने योजनामा काम गरिरहेको छ। यसका लागि एप्पलले दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डई मोटरसँग साझेदारी गर्ने सहमत भएको छ।

दुवै कम्पनीले यही वर्षको मार्चसम्म साझेदारीपत्रमा हस्ताक्षर गर्ने सम्भावना प्रबल छ। दुवै कम्पनीको ज्वाइन्ट भेन्चरले सन् २०२४ मा अमेरिकामा इलेक्ट्रिक कारको उत्पादन सुरु गर्ने बताइएको छ। 

हुन्डईले गत शुक्रबार वक्तव्य जारी गर्दे इलेक्ट्रिक कार बनाउने विषयमा एप्पलसँग प्रारम्भिक छलफल भएको जानकारी गराएको थियो। स्थानीय एउटा मिडिया आउटलेट भने हुन्डई मोटर र एप्पलले सन् २०२७ सम्म सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाइरहेको समाचार प्रकाशित गरेको थियो। यो समाचार सार्वजनिक भएलगत्तै हुन्डईको सेयरमा २० प्रतिशतसम्म उछाल आएको थियो।

समाचार एजेन्सीहरुका अनुसार यो सम्झौताअन्तर्गत दुईवटा योजनामा काम भइरहेको छ। पहिलो योजनाअन्तगृत जर्जियामा रहेको किआ मोटर्सको फ्याक्ट्रीबाट हुन्डई र एप्पलको साझेदारीमा इलेक्ट्रिक कार उत्पादन सुरु हुनेछ । किआ मोटर्स हुन्डईको सहायक कम्पनी हो। 

दोस्रो योजनाअन्तगृत दुवै कम्पनीको संयुक्त लगानीमा अमेरिकामा नयाँ फ्याक्ट्री बनाउने सम्भावना छ । प्रस्तावित फ्याक्ट्रीबाट सन् २०२४ मा एक लाख इलेक्ट्रिक कार उत्पादन गर्ने लक्ष्य राखिएको छ। यो प्लान्ट बर्सेनि ४ लाख कार उत्पादन गर्ने क्षमताको हुनेछ।

समाचारअनुसार हुन्डई र एप्पलले आउँदो वर्ष कारको बिटा भर्जन जारी गर्ने योजना बनाएका छन्। यो इलेक्ट्रिक कारको नाम भने एप्पल कार राखिने बताइएको छ। यद्यपि एप्पल कम्पनीले यस विषयमा प्रक्रिया सार्वजनिक गरिसकेको छैन। – एजेन्सी