काठमाण्डौ । एप्पलको आइफोन बोक्नु शानको बिषय बन्ने गरेको छ । नेपालमै पनि मध्यम तथा उच्च वर्गका सदस्यहरु एप्पलको आइफोन प्रयोग गर्न औधी रुचाउँछन् । तर यसको मूल्य निकै उच्च छ । आइफोनको मूल्य साबिकको तुलनामा घट्ने संभावना छ कि छैन होला त ? यदि यस्तै सोचिरहनुभएको छ भने अब एप्पलले आफ्नो आइफोनको मूल्य घटाउने भएको छ । एप्पल कम्पनी पछिल्लो कालमा ओरालो लाग्न थालेपछि विश्व बजारको खोजीको क्रममा भारतको भ्रमणमा रहेका एप्पलका सीइओ टिम कुकले मूल्य घटाउने संकेत गरेका हुन् । 

शुक्रबार भारतको एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा सीइओ कुकले भनेका छन्–‘मलाई लाग्छ कि एप्पलको मूल्य निकै अधिक छ । यसलाई घटाइनेछ ।’ 

उनले रिटेल मार्केटका लागि आफ्नो उत्पादनको भारत र आसपासको देशमा आफूले राम्रो संभावना देखेको समेत बताएका छन् । भारत भ्रमणको क्रममा आफूले धेरै विजिनेश आइडिया सिकेको समेत उनले बताएका दैनिक भास्करले जनाएको छ । 

भारतमा खुल्नेछ पहिलो रिटेल स्टोर
टिम कुकले आगामी दिनमा सफल व्यापार गर्नका लागि आफ्नो व्यापारिक रणनीतिमा केही परिवर्तन गर्ने संकेत समेत दिएका छन् । उनले भनेका छन्–‘स्मार्टफोनको दोश्रो सबैभन्दा ठूलो बजार भारतमा आइफोनको सेल्सलाई म तीव्र पार्न चाहन्छु । हामी यहाँ पहिलो रिटेल स्टोर खोल्ने तयारीमा समेत जुटेका छौ ।’ हाल एप्पलको भारतमा २ प्रतिशत मात्र मार्केट शेयर रहेको छ । 

उनले भारत र आसपासको मुलुकका मोवाइल प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर आफ्नो उत्पादन र विशेषतामा केही परिवर्तन हुनसक्ने संकेत समेत गरेका छन् । 

१३ वर्षमा पहिलोपटक झट्का
एप्पललाई १३ वर्षमै पहिलोपटक व्यापारमा मन्दी आएपछि झट्का लागेको छ । २०१६ को जनवरी मार्च त्रैमासमा कम्पनीको रेभेन्यू १३ प्रतिशत घटेर ५०६० करोड डलरमा आइपुगेको छ । कम्पनीको यही कमजोर तथ्यांक र अवस्थाका कारण एप्पलको शेयर मूल्यमा केही दिनअघि एकघण्टाको अवधिमा ८ प्रतिशतसम्मले घटेको थियो । यसबाट लगानीकर्ताको करिब ४ हजार करोड डलर डूबेको थियो ।