काठमाण्डौ । एप्पल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा १० वर्ष पूरा गरेका टिम कुकले ५० लाख कित्ता सेयर प्राप्त गरेका छन्।

यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश सेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्। उनलाई दिइएको सेयर एप्पलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ। सहमतिमा उनलाई एप्पलको सेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिका आधारमा सेयर दिइने उल्लेख थियो।

एप्पलका अनुसार गत ३ वर्षमा कम्पनीको सेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण कुकले सो संख्यामा सेयर प्राप्त गरेका हुन्। एप्पलको सेयर मूल्य सन् २०११ मा उनी प्रमुख कार्यकारी हुँदाको तुलनामा १२०० प्रतिशतले बढेको छ।

आईफोन, आईप्याड र म्याकबुक निर्माता कम्पनीको कुल मूल्य अहिले लगभग २५ खर्ब अमेरिकी डलरबराबर छ। गत साल कुकले सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ तलब सुविधाको विषयमा सहमति गरेका थिए।

एक्सचेन्ज कमिसनमा प्रस्तुत कागजातमा कुकले यो साता करिब १ करोड अमेरिकी डलरबराबरको सेयर परोपकारी संस्थालाई दान गरेको लेखिएको छ। प्रापक संस्थाको नाम भने उल्लेख छैन।

सन् २०१५ मा कुकले मृत्युअघि आफ्नो सबै सम्पत्ति दान गर्ने बताएका थिए। उनी परोपकारी कार्यमा करोडौँ दान गर्ने व्यक्तिमध्ये पर्छन्। कुकको अहिले कुल सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर रहेको ब्लुमबर्ग अर्बपति सूचीमा उल्लेख छ। उनले भाषणहरूमा एचआईभीरएड्स, जलवायु परिवर्तन, मानवअधिकार र समानताका विषयमा बोल्ने गर्छन्।

सन् २०१० मा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र अर्बपति वारेन बफेटले गिभिङ प्लेज सुरु गरेर अर्बपतिहरूलाई कम्तीमा आफ्नो आधा सम्पत्ति दान दिन आह्वान गरेका थिए। यो वर्षको सुरुमा बफेटले थप ४ अर्ब अमेरिकी डलरभन्दा बढी दान गरेका थिए। – बीबीसीबाट