काठमाण्डौ । एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा आईओएस १६ पेस गरेको छ। आईओएस १६ मा प्रयोगकर्ताले धेरै ठूला परिवर्तन हेर्न पाउनेछन्। तर, योसँगै पुराना आइफोन प्रयोगकर्तालाई झट्का लागेको छ। किनकि कम्पनीले अन्य थुप्रै मोडलका आइफोनका लागि सपोर्ट बन्द गर्न लागेको छ।

रिपोर्टका अनुसार नयाँ आईओएस सफ्टवेयर अपडेटका साथ एप्पलले आईफोन ६एस, आईफोन एसई (२०१६) र आईफोन ७ का लागि सपोर्ट बन्द गर्दैछ। यी मोडलका आइफोनहरुलाई अब नयाँ सफ्टवेयर अपडेट दिइने छैन। यद्यपि ती उपकरण अझै प्रयोगकर्ताले चलाइरहेका छन्। 

आईओएस १६ कम्पनीको प्रमुख सफ्टवेयर संस्करण हो। आईओएस १६ बाट प्रयोगकर्ताले म्यासेज एपबाट पठाइएका म्यासेज पनि इडिट गर्न सक्नेछन्। यसबाहेक अब आईफोनको लक स्क्रिनलाई थप कस्टमाइज गर्न सकिन्छ।

यी सबै फिचरहरु आईफोन ८ वा त्यसपछिका लागि भर्जनका लागि उपलब्ध हुनेछन्। यसको मतलब २०१६ अघि लन्च गरिएका आईफोनहरुले एप्पल सफ्टवेयर अपडेटहरु पाउने छैनन्। तर, कम्पनीको यो कदम नयाँ भने होइन। एप्पलले समय–समयमा पुराना फोनहरुका लागि सपोर्ट बन्द गर्दै आइरहेको छ। 

सपोर्ट बन्द हुँदा के हुन्छ ? 

माथि उल्लेख गरिएअनुसार एप्पलले आईफोन ६एस, आईफोन एसई (२०१६) र आईफोन ७का लागि सपोर्ट बन्द गर्दैछ। सपोर्ट बन्द भएपछि पनि प्रयोगकर्ताहरु आफ्नो फोन र एप चलाउन सक्नेछन्। यद्यपि, यदि नयाँ आईओएस सफ्टवेयर अपडेट उपलब्ध हुने छैन। जसका कारण प्रयोगकर्ताले चलाइरहेका आईफोन मालवेयर वा ह्याकको सिकार हुन सक्छ। –एजेन्सी