काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले सोमबार उम्मेदवारी दर्ताको घोषणा गरेका छन्। 

काठमाण्डौको भिभान्त होटलमा आयोजित एक कार्यक्रमबीच प्रधानले उम्मेदवारी दर्ताको घोषणा गरेका हुन्। कार्यक्रममा प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दर्ताको घोषणा गरेका छन्।

यसअघि गत कात्तिक ५ गते अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी चन्द्र ढकाल र उनको समूहले उम्मेदवारी दर्ता गराएको थियो। ढकाल समूहबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल वस्तुगतमा उमेशलाल श्रेष्ठ, जिल्ला–नगरमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराइसकेका छन्। 

महासंघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोहीइ कारण वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा हुन्छ। 

महासंघको ५४ औँ साधारणसभा आगामी मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुँदैछ। 

साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्ष चयन गर्नेछ। निर्वाचन हुने कार्यकारिणी समितिका सदस्यहरू संख्या ६० हुनेछ। जसमा महासंघको प्रत्येक प्रदेशतर्फबाट एक/एकजना गरी सदस्य ७ जना, उद्योग वाणिज्य संघतर्फबाट सदस्य १८ जना, वस्तुगत संघ तर्फबाट सदस्य १४ जना, एसोसिएटतर्फबाट सदस्य १९ जना, द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फबाट सदस्य १ जना र महासंघका संस्थापकहरूमध्येबाट १ जना रहनेछन्।