काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमई) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन्। 

दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसएमईका बीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइसमेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सिर्जना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसएमईको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ। 

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसएमईको प्रवद्र्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए। ‘आजबाट हामी सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चिय नै एसएमईले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अब सम्बोधन गर्नेछ’, उनले भने, ‘एसएमईलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महसुस भएको बताए। उनले भने, ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौँ ।’

आफूहरुबीचको सहकार्य निरन्तर अगाडि बढ्ने बताउँदै अध्यक्ष दाहालले भने, ‘हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौँ।’

अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भइसकेको जानकारी गराउँदै दाहालले महासंघको यो सहकार्यपछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईहरुलाई सघाउन थप सहयोग पुग्ने स्पष्ट पारे। 

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महसुस गर्ने भएकाले समझदारीअनुसार छिट्टै दुवै संस्था र आईएलओसमेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए। 

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुँचको अभाव नै रहेको पाइएकोले एसएमईहरुलाई नै केन्द्रित गरी भएको यो समझदारीले अव त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गरे। मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमईहरुकै भएकाले यो समझदारीले एसएमईहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए। 

कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो ।