काठमाण्डौ। नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र उद्योग विभागबीच समझदारी भएको छ। 

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले आज एक समारोहबीच हस्ताक्षर गरेका छन्। त्यसरी तयार गरिएको डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ। दुवै संस्थाहरूले आगामी ६ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिबद्धता जनाएका छन्। आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको सञ्चालनका क्रममा देखापर्ने समस्या तथा गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ। 

उद्योग–व्यवसायको निरन्तर सञ्चालन मार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरू निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चापदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ। 

आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ। सोही समितिमार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउँमा बसी बैठक छलफल गर्ने, संकलित तथ्यांकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचारप्रसार र समन्वयका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाइ पर्न गएको यथार्थता बीच महासंघ र बिभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ। महासंघको उद्योग समितिको सक्रियतामा यो समझदारीले मूर्तरुप पाएको हो।

महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आमनेपाली लाभान्वित हुन सक्ने बताए। उनले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गरे। 

उद्योग विभागका महानिर्देशक भुषालले महासंघसंग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गरे। उनले उद्योग विस्तार गर्न कहाँ समस्या छन् त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमती महत्वपूर्ण पहल हुने बताए। 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले आजको सहमती ऐतिहासिक भएको भन्दै उद्योगसंग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे। महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले सरकार र महासंघबीचको यो समझदारी मुलुकभित्र उद्योग व्यवसाय विस्तारमार्फत रोजगारी सिर्जना, लगानी तथा प्रविधि आकर्षणका लागिसमेत सेतु बन्ने धारणा राखे।