काठमाण्डौ । दुई महिनाअघि नै टुंगिने भनिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको निश्कर्ष यही साताभित्र आउने भएको छ । 

एभरेष्ट बैंकस्थित उच्च स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा दुवै बैंकका उच्च अधिकारीहरुबीच प्रत्येक दिनजसो बाक्ला छलफलहरु भइरहेका छन् । छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने-'जारी मर्जर सम्बन्धी छलफल सफल हुने या नहुने भन्ने कुराको निश्कर्ष यही साताभित्र आइसक्नेछ।' 

यसअघि जेठ दोश्रो सातासम्म डिडिए सकिने र त्यसपछि एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर सम्झौता भई काम अगाडि बढ्ने भनिएको थियो । तर, डिडिएमा संलग्न विदेशी कम्पनीले थप एक महिना समय मागेपछि  असारसम्म मर्जरले निश्कर्ष निकालिने बताइएको थियो । तर, असारमा टुंगिने भनिएको मर्जरले भदौमा मात्र निश्कर्ष निकाल्ने भएको हो । 

उच्च स्रोतका अनुसार डिडिएले एभरेष्ट बैंकको ५० कित्ता बराबर लक्ष्मी बैंकको १०० कित्ताको स्वाप रेसियोको आधारमा मर्जमा लैजान सकिने देखाएको छ । एभरेष्टसँग १००ः५० को सेयर स्वाप रेसियोमा जान लक्ष्मी बैंक तयार भएको देखिएको छ । एभरेष्ट बैंकले भने अहिलेसम्म डिडिए रिपोर्टले तय गरेको सेयर स्वाप रेसियोको बिषयमा ठोस निर्णय दिइसकेको छैन । 

दुई बैंकबीच मर्ज भई बढी चुक्तापूँजी भएको पहिलो वाणिज्य बैंक बन्ने र बजारलाई डोमिनेन्ट गर्ने ठूलो उद्देश्यका साथ एभरेष्ट र लक्ष्मी बैंकको मर्जरको भगिरथ प्रयास भइरहेको हो ।

एभरेष्ट बैंकमा २० प्रतिशत स्वामित्व रहेको पञ्जाब नेशनल बैंकको इच्छाअनुसार इन्टरनेशनल एकाउन्टेन्सी फर्म(इएनवाई) नामको कम्पनी र लक्ष्मी बैंकको तर्फबाट एक स्वदेशी कम्पनीले डिडिएको कामलाई टुंग्याइसकेका छन् । 

यसअघि दुवै बैंकका ठूला सेयरहोल्डरहरुले सम्पति तथा दायित्वको मूल्याङ्कन(डिडिए) अगाडि नै सेयर स्वाप रेसियोमा मोलमोलाई गर्न खोज्दा त्यसबेलाको मर्जरको कुरा हल्लै हल्लामा सीमित भएको थियो । तर, यसपटक भने मिलेसम्म दुई बैंकबीच मर्जर गरेरै छाड्ने उद्देश्यसहित काम भइरहेको स्रोत बताउँछ । 

स्रोतका अनुसार दुवै बैंकका अधिकारी डिडिए रिपोर्टलाई सहर्ष स्वीकार गरेर मर्जरको सम्झौता गर्ने मूडमा छन् । ‘अन्य बैंकहरुले जस्तो डिडिए अगाडि नै सेयर स्वाप अनुपात तोकेर मर्जरमा अगाडि बढ्नुभन्दा हामीले पहिला डिडिए गर्ने र त्यसबाट निस्किने रिपोर्टका आधारमा अगाडि बढ्ने रणनीति लिएका थियौ ।’ लक्ष्मी बैंकका एक अधिकारीले भने–‘योपटक मर्जर गर्नैका लागि भनी काम अगाडि बढाइएको हो, अघिल्लोपटकजस्तो हल्लामा सीमित हुँदैन भन्ने आशा गरेका छौ।’ 

डिडिएले निर्धारण गरेको सेयर स्वाप रेसियो र उल्झनको रुपमा अगाडि आएका केही बिषयमा सहज निश्कर्ष निस्किन सकेको खण्डमा यही साताभित्र मर्जरको सम्झौता हुनेछ । 

त्यसपछि दुवैले विशेष साधारणसभा बोलाई मर्जरको प्रस्ताव पारित गर्नेछन् र नेपालकै धेरै पूँजी तथा व्यवसाय गर्नसक्ने बलियो बैंकको आधिकारिक स्थापना हुनेछ ।

स्मरणरहोस्, राष्ट्रबैंकले समेत एभरेष्ट र लक्ष्मी बैंकको मर्जरलाई टुंगोमा पुग्ने गरी भूमिका निर्वाह गरिरहेको छ । यी दुई ठूला बैंकलाई एक बनाउन सकेमा यसैलाई उदाहरणको रुपमा स्वीकार गरी अन्य बैंकलाई समेत मर्जरमा जाने दवाब पर्नसक्नेछ। 

यसो भएको खण्डमा अन्य वाणिज्य बैंकहरु समेत आपसमा मर्जरमा जाने र त्यसपछि मुलुकमा १५ वटाको हाराहारीमा मात्रै बैंकको संख्या रहने बताइन्छ । थोरै संख्याका  बलिया बैंकले बजारको मागलाई सहजै ह्याण्डल गर्नसक्ने र त्यसपछि बैंकको नाममा हुने अस्वस्थ प्रतिस्पर्धा कम भई स्वस्थ प्रतिस्पर्धाले नयाँ उभार सिर्जना गर्ने कतिपयको विश्लेषण छ । 

*यसअघिको समाचारमा भूलवश केही तथ्य फरक पर्न गएकोले सच्याइएको छ । 
-सम्पादक