काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको भगिरथ प्रयासमा रहेको लक्ष्मी बैंकले बिक्री नभएको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सेयर बोलकबोलबाट बिक्रीका लागि आवेदन खुलाएको छ । 

लक्ष्मी बैंकले बिक्री नभएको सेयरका लागि लिलामी प्रक्रिया आगामी असार १६ गते अर्थात शुक्रबारबाट सुरु गरेको हो । 

यो बैंकले बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । त्यसमध्ये बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्ने भएको हो । 

लिलामीको प्रक्रियामा सहभागी हुन चाहनेले असार १६ गतेदेखि २३ गतेसम्म तोकिएको स्थानमा गएर गोप्य शिलबन्दी दरखास्त दिनुुपर्नेछ । लिलामीको अन्तिम नतिजा असार २४ गते प्रकाशन गरिनेछ । 

लक्ष्मी क्यापिटल मार्केट लिमीटेड यो बैंकको सेयर लिलामीको बिक्री प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले नयाँ बानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केटको मुख्य कार्यालयमा गएर बोलकबोलको फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ । 

प्रति कित्ता मूल्य न्यूनतम १ सय रुपैयाँ र एक आवेदकले न्यूनतम १ सय कित्ताका लागि प्रस्ताव पेश गर्नुपर्ने अनिवार्य नियम राखिएको छ । 

यो बैंकले बिक्री नभएको संस्थापक सेयर पनि लिलामीबाटै बिक्री गर्ने गरी प्रत्रिया सुरु गरिसकेको छ । संस्थापक सेयरको लिलामीका लागि भने बैंकका संस्थापक सेयरधनीले मात्र प्रस्ताव पेश गर्न पाउनेछन् । 

लक्ष्मी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ करोड ९१ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकको सेयरको अन्तिम बिक्री मूल्य प्रति कित्ता ३ सय ८४ रुपैयाँ रहेको छ । 

लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच मर्जरको गृहकार्य भइरहेको सूचना बाहिर आइसकेको छ । केही प्राविधिक पक्षहरु मिलाएर यी दुुई बैंक आधिकारिक रुपमा मर्जरको प्रक्रियामा सामेल हुने तयारी गरिरहेका छन् ।