काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा नाफामा निकै राम्रो प्रगति गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ७८ करोड खूद नाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५ करोडमा सीमित थियो । 

एभरेष्ट बैंकले नेपाल फाइनान्सियल रिपोर्टिंग स्ट्याण्डर्ड(एनएफआरएस)को आधारमा शुक्रबार प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको नियामकको नियम व्यवस्थापनपछिको स्वतन्त्र नाफा २ अर्ब ७० करोड रहेको छ । यसको अर्थ बैंकले २ अर्ब ७० करोड लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । 

समीक्षा अवधिमा एभरेष्ट बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । बैंकले ४ अर्ब ९२ करोड यस्तो आम्दानी गरेको हो । अघिल्लो वर्ष बैंकको खूद ब्याज आम्दानी ३ अर्ब ७८ करोडमा सीमित थियो । 

बैंकले २ अर्ब ९१ करोडमा सीमित संचालन मुनाफालाई बढाएर ३ अर्ब ८६ करोडको उचाईमा पुर्याएको छ भने ७ अर्ब २५ करोडमा सीमित रिजर्ब केही बढी ७ अर्ब ८० करोड पुगेको छ । 

बैंकको निक्षेप तथा कर्जा परिचालनतर्फको वृद्धि निकै सन्तुलित देखिएको छ । निक्षेपतर्फ २०.७७ प्रतिशतको वृद्धि गरेको बैंकले कर्जातर्फ २०.३० प्रतिशतको वृद्धि गरेको देखिन्छ । कतिपय बैंकहरुले आफ्नो निक्षेपतर्फको ग्रोथ नहेरी अन्धाधुन्ध कर्जा बिस्तार गर्दा समस्या भोगिरहेका छन्, एभरेष्ट भने ती भन्दा फरक देखिएको छ । 

समीक्षा अवधिमा एभरेष्टले १ खर्ब १४ करोड निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९५ अर्ब निक्षेप संकलन गरी ७७ अर्ब १२ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकको कुल विस्तृत आम्दानी २ अर्ब ७० करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब २९ करोडमा सीमित थियो । 
बैंकले खराब कर्जालाई समेत घटाएको छ । अघिल्लो वर्ष ०.५१ प्रतिशत रहेको खराब कर्जा घटेर ०.२० प्रतिशतको अनुपातमा झरेको हो । 

समीक्षा अवधिमा एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३४.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९६.२८ रुपैयाँ कायम भएको छ ।