काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। 

बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। बैंकको यो वितरणयोग्य मुनाफामा २३ करोड ८४ लाख रुपैयाँ सेयर प्रिमियम जोड्दा बैंकले २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको हो। बैंकको चुक्तापुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको खुद नाफा भने १८.१४ प्रतिशतले घटेको छ। यो त्रैमाससम्म बैंकको खुद नाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।
यो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत ५ अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ५ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो। 

बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १०.०९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ६ अर्ब ९५ करोड रुपैयाँ रहेको रिजर्भको आकार समीक्षा अवधिमा बढेर ८ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिमा बैंकको आधार दर घटेर ८.०५ प्रतिशतमा सीमित बनेका छ। जुन अघिल्लो वर्ष ८.१२ प्रतिशत थियो। 

अघिल्लो वर्ष निष्क्रिय कर्जा (एनपीएल) अनुपात ०.१६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ०.२२ प्रतिशत पुगेको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३१.१५ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात २१.६७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१९.८४ रुपैयाँ रहेको छ।